प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएकी छन ।
बुधबार किर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभामा विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई स्वायत्त ढंगले काम गर्ने वातावरण बनाउनुपर्ने र राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएकी हुन ।
असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था विश्वविद्यालयका लागि समेत राम्रो नभएको उनले बताईन ।
प्रधानमन्त्री कार्कीले मुलुकको आर्थिक अवस्थामा सोचेजस्तो बिकास हुन नसकेकाले त्यसको असर विश्वविद्यालयदेखि सवै ठाँउमा परेको बताइन । उनले विश्वविद्यालयहरु पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक रूपमा समेत आत्मनिर्भर हुनुपर्ने धारणा राखिन। त्यसका लागि विश्वविद्यालयको नाममा भएको पूर्वाधारलाई प्रयोग गर्न उनले सुझाव दिईन ।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाईन ।
त्रिविसभाले चालूआर्थिक बर्षका लागि विश्वविद्यालयको नीति कार्यक्रममा प्राज्ञिक तथा प्रशासनिक पक्षलाई पुनःसंरचना गर्ने, शैक्षिक तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत सुधार, सूचना प्रविधिमार्फत डिजिटल रुपान्तरण र अनुसन्धानका लागि स्रोतसाधनको व्यवस्था गरिने लगाएतका प्रस्तावलाई पारित गरेको छ ।











