काठमाडौं, मंसिर ७ । मकवानपुरमा १४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। बागमती प्रादेशिक निर्वाचन कार्यालय हेटौँडाका अनुसार गत शुक्रबारसम्म जिल्लामा १४ हजार ६०३ जना नयाँ मतदाताले नाम दर्ता गराएका हुन्।
जिल्लामा बायोमेट्रिक विधिबाट छ हजार ९७० र राष्ट्रिय परिचयपत्रका आधारमा सात हजार ६३३ गरी १४ हजार ६०३ जना नयाँ मतदाता थपिएका कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए। यसअघि जिल्लाको मतदाता सङ्ख्या तीन लाख दुई हजार २४३ थियो।
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मंसिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको हो। नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउनसक्ने व्यवस्था छ।
उमेर पुगे पनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाइ र कामको सिलसिलामा बाहिर रहेका मतदातालाई लक्षित गरेर जेनजी समूहको मागअनुसार सरकारले मंसिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको हो।











