काठमाडौँ, ६ मंसिर । नेकपा एमालेले आज शनिबार काठमाडौँमा केन्द्रीयस्तरको कार्यक्रम गरेर जनप्रदर्शन र जनसभा आयोजना गरेको छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको हो । एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ । जनसभा भृकुटी मण्डपमा हुनेछ । एमालेका नेता,कार्यकर्ता,जनसंगठन,सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने बताइएको छ । जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउन खोजेको एमालेले आजको जनसभालाई एमालेले आन्तरिक शक्ति मजबुत भएको सन्देश दिने कार्यक्रमका रुपमा पनि लिएको छ । एमालेले संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै आएको छ ।
एमाले पोलिटब्युरो सदस्य नेता महेश बस्नेतले जनसभामा देशभरका पार्टी नेता कार्यकर्ताको उपस्थिति रहने बताए । ‘कम्तीमा ६० हजार मान्छे उतार्ने तयारी गरेका छौँ,’ उनले भने । जनसभामा सहभागी हुने जिल्लाजिल्लाबाट बिहानैदेखि नेता कार्यकर्ता राजधानी प्रवेश शुरु भएको छ ।











