चक्रवात ‘मोन्था’ को प्रभाव : आज साँझसम्म मौसम प्रभावित, भोलिदेखि सुधारको सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ। बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा सक्रिय रहेको छ। सो प्रणालीको प्रभावका कारण नेपालभरको मौसम आज साँझसम्म प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भोलिदेखि देशभर मौसममा क्रमिक सुधार आउने देखिएको छ। हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ, जसका कारण देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदलीको अवस्था छ।

हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा,कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रेहको छ ।त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ। आज राति कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले चेतावनी दिएको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपात समेत हुनसक्ने बताइएको छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा भारी हिमपात र कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्वतारोहण, कृषि, पर्यटन, सडक तथा हवाई यातायातमा असर पर्ने चेतावनी दिएको छ।
त्यसैले प्रभावित क्षेत्रका बासिन्दा तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्