बिपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न मन्त्री घिसिङको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १८ असोज । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले बिपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको छ ।

शनिबार सिंहदरबारमा मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री घिसिङले मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेकाले बिपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिइएको जानकारी दिनुभयो । शनिबार रातीदेखि आइतबार बिहानसम्म उपत्यका लगाएतका स्थानमा धेरै जोखिम रहेकाले उपत्यकाका नदि किनारका बस्तीमा नबस्न आग्रह गरिएको भन्दै उहाले बिपद् प्रतिकार्य टोलीलाई पनि सक्रिय बनाइएको बताउनुभयो ।

बाढि र पहिरोका कारण भौतिक संरचनालाई धेरै क्षति हुन नदिने गरि व्यवस्थापन गरिएको उहाले बताउनुभयो । उहाले राजमार्गमा कुनै समस्या देखिए तत्काल समाधान गर्न निर्देशन दिइएको उल्लेख गर्नुभयो । बढि डुवान हुने क्षेत्रमा पनि बिपद् प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको उहाको भनाइ छ ।

उहाले नदि किनारमा रहेका आयोजनाका सामाग्रीलाई सुरक्षित स्थानमा सार्ने काम भएको बताउनुभयो । बिपद् व्यवस्थापनका लागि मन्त्री घिसिङले सडक, सिचाई र मौसम बिभागका प्रतिनिधिहरुसंग छलफल गर्नुभएको हो ।

जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि आइतबार बिहानसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबारबाट मौसम क्रमश सुधार हुँदै जाने बिभागले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्