काठमाडौं, साउन २४ । कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन् । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका छन् ।
सुरक्षा स्रोतका अनुसार अहिले स्थिति नियन्त्रण बाहिर रहेको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको स्रोतको भनाइ छ । कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।
‘कैदीबन्दीहरूले थुनुवा कक्षको मूल गेटमा भित्रबाट ताल्चा लगाएका छन् । ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएपछि प्रवेश गर्न सकिएको छैन्’, सुरक्षा स्रोतले भन्यो, ‘राति घाइतेको उद्धार गरिए पनि त्यो भित्रको अवस्था के हो रु भन्न यकिन भएको छैन् ।’
१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो ।
उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् ।
घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीको आईसीयूमा उपचार भइरहेको कैलालीका प्रपक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले बताए ।
यसैविच, कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छलफल गर्नका लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् ।
शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री लेखकले छलफलका लागि बोलाएका हुन् । अहिले केदीबन्दीहरूले कारागार नै नियन्त्रणमा लिएका छन् भने सुरक्षा व्यवस्था अव्यवस्थित बन्न पुगेको छ । यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।












