काठमाडौं, साउन २ । मधेस प्रदेशका ८ जिल्लामा सुख्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययनका लागि टोली पठाउने भएको छ। हालको अवस्था, समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्यन गर्न कृषि प्राविधिकको टोलि पठाउने निर्णय भएको हो।
टोली आईतबार सो क्षेत्रमा पुग्नेछ। शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालय र मातहतका कर्मचारीहरुसँग छलफल गरी तुरुन्तै सो क्षेत्रमा टोली पठाउन निर्देशन दिए। मन्त्री अधिकारीको निर्देशनअनुसार प्रत्येक जिल्लामा केन्द्रबाट २/२ जनाको दरले टोली पठाउने निर्णय भएको हो।
टोलीले मधेस प्रदेशमा रहेका मन्त्रालयअन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीहरुसँग पनि समन्वय गर्ने छ। मधेस प्रदेश सरकारले लामो समय सो क्षेत्रमा पानी नपर्दा खाने पानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिन अघि सुख्खा ग्रस्थ क्षेत्र घोषणा गरेको थियो।












