२६ जेठ, काठमाडौं । कञ्चनपुरकाे भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ संकलन, उत्खनन बन्द गरिने भएको छ। जेठ मसान्तपछि नदीजन्य पदार्थ, संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुङगा, बालुवा, गिटी, उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९)दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ।
“सोही कानुनी व्यवस्था अनुसार नदीजन्य पदार्थ संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो ” उनले भने, “उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, संकलनको कार्य गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारबाही हुने छ।”
नगरपालिका क्षेत्रमा महाकाली नदी, चुरे क्षेत्रका खोलाबाट नदीजन्य पदार्थ संकलन र उत्खननको कार्य हुने गर्दछ।












