काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाले ३० औँ महानगर दिवस नागरिकसंगै मनाउने जनाएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै महानगरले दिवसलाई नागरिकहरुको सहभागीता र नागरिकसंगै केन्द्रीत गर्ने गरि कार्यक्रम तय गरेको जनाएको हो । जसअन्तर्गत सांस्कृतिक तथा सांगीतिक कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिइने महानगरले जानकारी दिएको छ ।
दिवसको औपचारिक कार्यक्रम मंसिर २९ गते सैनिक मञ्चमा हुने र सांस्कृतिक तथा सांगीतिक कार्यक्रम अपरान्ह ३ बजेदेखि टुँडिखेल मैदानमा हुने काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । सांगीतिक कार्यक्रममा स्थानीय मौलिक परम्परागत परिकारको प्रवद्र्धन गर्नेगरि खाना मेला समेत हुने उहाले बताउनुभयो ।
त्यस्तै एक वडा एक नमूना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनी गर्ने प्रवक्ता मानन्धरले बताउनुभयो ।
यस वर्ष महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको महानगरले जनाएको छ । १९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको थियो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।