काठमाडौं, मंसिर २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा आज दिनभर रविको बयान भएको थियो ।
बयाना क्रममा रविले आफूलाई लगाइएका सहकारी ठगीको आरोप अस्वीकार गरेका छन् । उनलाई चार दर्जनभन्दा बढी प्रश्न सोधिएका थिए र रविले सबैको जवाफ दिएको बताएको छ ।
रविलाई बिहान ९ बजे बयानका लागि लगिएको थियो । केहीबेर बयान लिएर खाना खुवाउन जिल्ला प्रहरी कार्यालय ल्याइयो । त्यसपछि फेरि सरकारी वकिल कार्यालय लगेर बयानलाई निरन्तरता दिइयो । बेलुका ५ बजेतिर बयान सकिएको हो । अहिले उनलाई फेरि जिप्रकाको हिरासतमा राखिएको छ ।
रविलाई बयान लिँदै गर्दा रास्वपा समर्थकहरुले प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाहिर रास्वपाका प्रदर्शनकारी र प्रहरीको केहीबेर घम्साघम्सीसमेत भएको थियो ।