नेपाल प्रिमियर लिगमा कर्णालीले पोखरालाई ७ विकेटले हरायो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २५ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स बिजयी भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवन राइनोज र कर्णालीले पोखरा एभेन्जर्सलाई पराजित गरेको हो । मंगलबार भएको पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गर्यो । खेलमा यो लुम्बिनीको पहिलो जित हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोड्न सक्यो । लुम्बिनीका लागि रोहितले ४ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।

लुम्बिनीका रोहितले सर्वाधिक ८० रन जोडे । त्यस्तै मंगलबार नै भएको दोश्रो खेलमा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गर्यो । १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६ दशमलव ३ ओभरमा १ सय ३ रन बनाउँदै अल आउट भएको थियो ।

प्रतियोगीता अन्तर्गत बुधबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम लायन्स तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनीबीच प्रतिष्पर्धा हुने क्यानले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्