विद्युत् प्राधिकरण र एडिबीबाट जलाशययुक्त तनहुँ जलविद्युत् आयोजना अनुगमन, भाैतिक प्रगति ६३ प्रतिशत

खबर बुक
  • ख-
  • ख+

२५ मंसिर, काठमाडौं । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कुलेखानीपछिको दोस्रो तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेको छ। 

एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ । 

टोलीले प्याकेज–१अन्तर्गत १४० मि. अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरेको थियो ।

कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत रुपमा छलफल गरी टोलीले निर्माण प्रगति, बेहोरिरहेका समस्या, निर्माण तालिकालगायतका विषयमा जानकारी लिएको थियो ।  
तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा टोलीलाई जानकारी गराउनुभएको थियो । 

टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गाको समस्यालगायतका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी,नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँगसमेत छलफल गरेको थियो । जग्गा सम्बन्धी समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरिएको थियो । 

आयोजनाले कार्यान्वयनमा ल्याएका वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरुको कार्यान्वयन र प्राविधिक पक्षमा एडिबीको विशेष चासो रहेको उल्लेख गर्दै नियोगका निर्देशक कुश्वाले हाल देखिएका समस्या तत्काल समधान गरी तोकिएकै समय र गुणस्तरमा निर्माण सम्पन्न आग्रह गर्नुभयो ।   
सुख्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नु पर्ने बताउनुभयो । 

विद्युतगृह, प्रसारण लाइनलगायतका संरचना निर्माण अन्तिम चरणमा रहेको तर बाँध निर्माण चुनौतीपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै घिसिङले बाँध निर्माणलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाउन सम्बन्धित पक्षहरुलाई निर्देशन दिनुभयो । 

मुख्य संरचनाहरुलाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ । 
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिने छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ । क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्