
काठमाडौं, कार्तिक १७ । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्यांग्रा बिक्री भएको छ। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका बजारमा कात्तिक सुरु भएदेखि चार हजार ४० भेडा÷च्यांग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार यसपालिको दसैं पर्वका लागि आठ हजार भेडाच्यांग्रा बिक्री भएको थियो। पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्यांग्रा मात्र बजार पठाउने गरिएको छ।
दसैं र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेकासहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्यांग्रा बजारमा बिक्री भएको हो। ‘उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालिको दसैं तिहारमा भेडाच्यांग्राको व्यापार बढी भएको छ’, केन्द्र प्रमुख अर्यालले भने, ‘कृषकले तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ३७ हजारका दरले च्यांग्रा बिक्री गरेका छन्।’
जडीबुटीयुक्त बुकीमा चरेका च्यांग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ। तीन वर्ष पूरा भएका च्यांग्रा मासुका लागि बिक्री हुने गर्छ। गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्यांग्रा खरिद गरेका व्यापारीले यसपालि प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानबाट खरिद गरेका छन्।