तिहारको समय अत्यधिक माग हुने सयपत्री र गोदावरी फूल टिप्न काठमाडौंको इचंगु, कल्लाबारीका किसानलाई चटारो छ। उपत्यकाको पुष्प केन्द्रको रुपमा परिचित इचंगु क्षेत्र अहिले सयपत्री, गोदावरी फूलले ढकमक्क छन्। बिहानैदेखि किसान फूल टिप्नमै व्यस्त हुने गरेका छन्।
मंगलबारदेखि यमपञ्चक सुरु भएसंगै सयपत्री र गोदावरी फूलको माग पनि बढ्ने गर्छ। यहाँ उत्पादित फूल उपत्यकामै खपत हुने गरेको छ। अझ स्वदेशी उत्पादन प्रोत्साहन गर्न काठमाडौं महानगरले ५६ स्थानमा बिक्री केन्द्र तोकिदिएपछि किसानलाई सहज भएको छ।