
काठमाडौं, साउन २३ । सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
सिंहदबरारमा बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
समितिमा आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहनुभएको छ । आयोगलाई काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको प्रवक्ता गुरुङले बताउनुभयो ।
दुर्घटनामा चिनियाँ नागरिकको निधन भएकोमा बैठकले दुःख व्यक्त गर्दै मृतकका परिवार र चीन सरकारप्रति समवेदना व्यक्त गरेको उहाले बताउनुभयो ।
बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।