काठमाडौं, साउन २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव माओवादी सरकार खोज्दै नहिड्ने बताउनुभएको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकार भन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिड्ने बताउनुभएको हो । उहाले अव पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रीत रहने बताउनुभयो । पार्टीभित्रका असन्तुष्टिहरुलाई मिलाएर फुट र बिभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अव फुटतिर नभइ जुटतिर केन्द्रीत हुने स्पष्ट पार्नुभयो । उहाले माओवादीबाट अलग भएकाहरु छिटै आफ्नो नेतृत्वमा माओवादीमा एकतावद्ध हुन लागेको जानकारी दिनुभयो ।
प्रचण्डले आफु नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन आफै मेचि–काली अभियान सुरु गर्ने तयारीमा रहेको धारणा राख्नुभयो । सरकारबाट बाहिरिएसंगै कार्यकर्तालाई खोज्ने र जनतामा जाने राम्रो अवसर प्राप्त भएको उहाले बताउनुभयो । प्रचण्डले आफु नेतृत्वले धेरै राम्रा काम गर्न खोजेकाले प्रतिक्रियाबादीहरु डराएर सरकारबाट हटाएको टिप्पणी समेत गर्नुभयो ।
त्यस्तै उहाले अहिलेको गठबन्धन डरमा आधारित, भ्रष्टाचारीलाई बचाउने र जनताप्रति प्रतिगमनको हतियार चलाउन उन्मुख रहेको आरोप लगाउनुभयो । अहिले संविधान संशोधनको तयारी भइरहेको भन्दै उहाले बिभिन्न परिवर्तनबाट प्राप्त उपलव्धीलाई खोस्ने प्रयास गरे जनताले सफल हुन नदिने जिकिर गर्नुभयो ।












