काठमाडौं । मंगलबार सेयर बजारमा ठूलो करेक्सन देखिएको छ। कारोबारको सुरुमा बढ्ने संकेत गरेको बजारले १ बजेर ३५ मिनेट जाँदा भने ठूलो करेक्सन देखाएको हो।
१ बजेर ३५ मिनेटसम्म सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०७.०९ अंकले घटेर २६८९.२९ अंकमा आइपुगेको छ। यद्यपि कारोबार खुलेको १५ मिनेटमै सूचक २८१५.९४ अंकसम्म चढेको थियो।
सोमबार २७९६.३८ अंकमा रहेको सूचक एकाएक मंगलबार गिरावट देखिएको हो। पछिल्लो पटक बजार बढ्न थालेदेखिकै यो गिरावट ठूलो हो।
२०८१ असार १६ मा २०३७.०९ अंकमा रहेको नेप्से सूचक मंगलबारसमेत पछिल्लो २७ कारोबार दिनमा मंगलबार सबैभन्दा ठूलो गिरावट आएको हो। बजारले अझैँ घट्ने गति समाउने देखिन्छ। यस दिन मध्यान्नसम्म १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
विश्वव्यापी सेयर बजारमा गिरावट आइरहँदा नेपालको बजारले भने उकालो गति लिएको थियो। तर, मंगलबार एकाएक करेक्सन भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा समेत सामान्य प्रतिक्रिया नदेखाएको सेयर बजार मंगलबार भने एकाएक खस्किनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।













