२० साउन,काठमाडौं । सरकारले अनिवार्य गरेको बिमामा कमिसन मौलाउँदै गएपछि विकृति रोक्न नियामक नेपाल बिमा प्राधिकरणले चासाे देखाएकाे छ। जीवन बिमा कम्पनीहरुले व्यवसाय विस्तारमा वैदेशिक रोजगार म्यादी बिमालाई ‘माध्यम’ बनाएर कमिसन लिँदै आएकाे फेला परेपछि प्राधिकरणले चासाे देखाएकाे हाे।
बिमा व्यवसाय मध्यस्थकर्ता अर्थात् अभिकर्तामार्फत विस्तार गर्न पाउने कानुनी प्रावधान भए पनि म्यादी बिमा (निश्चित समयपछि स्वतः खारेज हुने प्रकृतिको बिमालेख) बीमितले सोझै कम्पनीमा गर्न सक्ने व्यवस्था नेपाल बिमा प्राधिकरणले गरेको छ। यस्तो बिमालेख जारी गर्दा बिमकले व्यवसाय विस्तार वा बिजनेस प्रमोसनको नाममा मध्यस्थकर्ता वा कसैलाई पनि कमिसन दिनु गैरकानुनी हो।
तर, सरकारले अनिवार्य गरेका केही म्यादी जीवन बिमालेखलाई बिमा कम्पनीहरुले वार्षिक टार्गेट पूरा गर्न हतियार बनाएर प्रिमियमको ८०/९० प्रतिशत वा सोभन्दा बढीसम्म क्यासब्याकको नाममा कमिसन दिइरहेका छन्। यसमा सन् लाइफ, एसियन लाइफ र नेपाल लाइफलगायतका कम्पनीले बिमाशुल्क बराबर नै कमिसनमा खर्च गरेको समाचार क्यापिटल नेपालले प्रकाशित गरेको थियो।
प्राधिकरणले प्रकाशित समाचारमा उल्लिखित विषयवस्तु र विकृतिबारे प्रष्ट हुन सबै जीवन बिमा कम्पनीका कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलाएको थियो। गत आर्थिक वर्षको असार मसान्तसम्म सबै कम्पनीले ५ सयदेखि १२ सय रुपैयाँसम्म र अहिले सन, एसियन र नेपाल लाइफले वालेट कम्पनीसँग मिलेर म्यानवापर कम्पनीलाई कमिसन दिएको समाचार क्यापिटल नेपालले प्रमाणसहित लेखेको हो।
सञ्चार माध्यममा आएको समाचार र केही कम्पनीबाटै गरिएको गुनासोबारे छलफल तथा समाधान खोज्न प्राधिकरणले बिमा कम्पनीका सीईओहरुलाई बोलाएको हो। छलफल वैदेशिक रोजगारमा जानेहरुले गर्ने म्यादी जीवन बिमालाई पुलमार्फत गर्दा समाधान हुने निष्कर्षमा पुगेकाे प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले बताइन्।
‘वैदेशिक रोजगारीमा जानेका लागि गर्ने म्यादी जीवन बिमाका क्यासब्याकको नाममा कमिसन दिएको भन्ने विषय आएपछि यसलाई पुलमार्फत गर्दा समाधान हुने निश्चित गरेका छौं,’ प्राधिकरणका निर्देशक अधिकारीले क्यापिटल नेपालसँग भनिन्, ‘पहिले पनि यस्तै क्यासब्याक हुन थालेपछि पुलमा लगिएको थियो। वालेटबाट हुँदा पुल आवश्यक नहोला भनेर खारेज गरेका हौं तर पुन विकृति सुरु भएपछि पुल आवश्यक देखियो।’
प्राधिकरणद्वारा जारी पछिल्लो निर्देशनअनुसार बिमकले म्यादी बिमा न्यूनतम १४ सय ८६ देखि अधिकतम १८ हजार २२२ रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ। ‘वैदेशिक रोजगार म्यादी बिमालेख निर्देशन, २०८०’ अनुसार यस्तो बिमालेख कम्पनीले १८ वर्षदेखि ६४ वर्ष उमेरसम्मका वैदेशिक रोजगारीमा जानेले १ वर्षदेखि साढे ६ वर्षसम्मलाई जारी गर्न पाउँछन्।
तर, यस्तो बिमा खल्ती वालेट र ई–सेवा वालेटमार्फत गराउँदा सन् लाइफले ९ सय ९९, एसियन लाइफले १ हजार र नेपाल लाइफले १ हजार १ सय रुपैयाँसम्म बिमा गराउने व्यक्तिको खातामा ‘क्यासब्याक’को नाममा कमिसन पठाइरहेका छन्।
यसरी केही बिमा कम्पनीले क्यासब्याकको नाममा कमिसन दिएपछि आफ्नो बिजनेस खोसिएको भन्दै प्राधिकरण र जीवन बिमक संघमा कम्पनीका सीईओले गुनासो गरिरहेका थिए। प्राधिकरणले पनि सञ्चार माध्यममा आएको विषय र सीईओको गुनासोबारे समाधान खोजेको हाे।
प्राधिकरणले वैदेशिक रोजगार बिमा गराउने सबै बिमा कम्पनीका सीईओहरुलाई बोलाएर विकृतिबारे गरेकाे छलफलमा बिमालेख पुलमार्फत गराउँदा समस्या समाधान हुनेमा सबै सहमत भएकाे धारणा अधिकारीले व्यक्त गरिन्।
‘सबै जीवन बिमक संघसँग छलफल गरेर नै उहाँहरुकै आग्रहमा पूलमार्फत गर्दा हुन्छ भनिएको हो, अब यसमा थप अध्ययन तथा छलफल गरी पुल म्यानेजर कसलाई राख्दा ठिक हुन्छ, नयाँ व्यवस्था गछौं,’ प्राधिकरण निर्देशन अधिकारीले भनिन्।
२०७५ माघ १ देखि २०७९ असार मसान्तसम्म म्यादी बिमा व्यवसाय पुलमार्फत भइरहेको थियो। तत्कालीन बिमा समितिले पुलको व्यवस्था खारेज गर्दै म्यादी बिमा सोझै कम्पनीमार्फत हुने व्यवस्था लागू गरेको हो। त्यसयता केही जीवन बिमा कम्पनीले म्यानपावर कम्पनी र वालेटमा बिमाशुल्कबापतको पैसा कमिसनमै खर्च गरिरहेका छन्। यस्तो बथिति रोक्न प्राधिकरणले पुनः पुलको व्यवस्था लागू गर्नुपर्ने उनको भनाइ हो।
गत जेठसम्म नेपालबाट ६ लाख ८५ हजार ६ सय ४१ नेपाली वैदेशिक रोजगारीमा विभिन्न देश गएका छन्। अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७ सय ५ जना छन्। वैदेशिक रोजगारीमा जानेमध्ये ७० प्रतिशत १८ देखि ३५ वर्ष उमेर समूहको हुने भण्डारी बताउँछिन्। यी उमेर समूहको बिमालेखको शुल्क धेरै नभएको हुँदा कमिसन रकम पनि धेरै नभएको उनको भनाइ छ।
वैदेशिक रोजगारीमा जानेले हालसम्म २ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ बराबरको २० लाख ६७ हजार २ सय ३७ वटा म्यादी जीवन बिमा गराएका छन्।