नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन हस्तान्तरण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। नबिल बैंकले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन उपलब्ध गराएको छ। काठमाडौंको बोहराटारस्थित मानव सेवा आश्रममा दुई वटा वाहन हस्तान्तरण गरिएको हो।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरे।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न अभियान सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको यो आश्रमलाई सहयोग उपलब्ध गराएको हो। बैंक अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको बताए। 

सीइओ ढुंगानाले बैंक मानव सेवाका कार्यमा सत्रिय हुँदै आएको बताए। नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बेसहारा बनेका मानिसलाई खाना, सुरक्षा, र स्वास्थ्यजस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने आश्रमको अभियानमा बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए।

मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनअभावमा सडक आश्रित व्यक्तिको उद्धार गर्न कठिन भएको अनुभव सुनाए। नबिल बैंकबाट प्राप्त गाडीले सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

मानव सेवा आश्रमलाई विभिन्न तवरबाट सहयोग पु¥याउँदै आएकी गायिका आनी छोइङ डोल्माले लक्षित मानिसलाई सवारी साधन अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताइन्।

नबिल बैंकबाट प्राप्त सवारी साधनले ती व्यक्तिहरूको जीवन बचाउन महत्त्वपूर्ण योगदान पु¥याउने उनको विश्वास छ। नबिल बैंकका पदाधिकारीले आश्रममा आश्रितलाई खानासमेत वितरण गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्