विदेश रोजगारी प्रलोभन देखाएर १५ करोड असुल्ने गिरोह पक्राउ, ३०० ठगिए

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारको प्रलोभन देखाएर १५ करोड असुल्ने तीन जनाको गिरोहलाई पक्राउ गरेको छ।

प्रहरी टोलीले वैदेशिक रोजगारको प्रलोभन देखाएर ३०० बढीसँग ५ देखि १० लाख रुपैयाँसम्म ठगी गर्ने गिरोहमा संलग्न कास्कीका पवन पन्त, चितवनका राजकुमार भट्ट र नविन विकलाई पक्राउ गरेको हो।

प्रहरी टोली रोजगारीका नाममा ठगी गर्ने तीनै जनालाई पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो। पक्राउ परेकाले ४ वर्षयता ३०० जनाबाट ५ देखि १० लाखका दरले १५ करोड बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिरकारी रवीन्द्र रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले भने, ‘विदेश रोजगारीमा नाममा फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोलेर उनीहरुले कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्दै आएका रहेछन्। उनीहरुले विभिन्न व्यक्तिका खातामा रकम जम्मा गराएर फेरि संकलित रकम चेकमार्फत निकाल्न लगाउँदा रहेछन्। यसरी सयौं मानिसलाई ठगी गर्दै आएको देखियो।’

रकम लिएपछि विदेश नपठाएको भन्दै नवीन चौधरीलगायतका १५ पीडितले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको प्रवक्ता रेग्मीको भनाइ छ।

विदेश रोजगारीमा पठाउने प्रलोभन दिने गरेको तीनै जनाले नेपालमा पनि काम दिने वहानामा एकाउन्टेन्ट राखेर उनीहरूलाई पनि ठगीमा प्रयोग गरेको देखिएको प्रहरी प्रवक्ता रेग्मीले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्