कांग्रेसको अवरोधका कारण संसदको चालु अधिवेशनको अन्त्य भएकाे हाेइनः प्रवक्ता शर्मा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , २ वैशाख ।  सरकारका प्रवक्ता रेखा शर्माले संसद्को अधिवेशनबाट अर्को अधिवेशनमा जान संवैधानिक व्यवस्था अनुसार केहि समय आवश्यक पर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताउनुभएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कांग्रेसको अवरोधका कारण नभई बजेटको तयारी र अर्को अधिवेशन सुरु गर्ने संवैधानिक व्यवस्था अनुसार अधिवेशन अन्त्य गरिएको बताउनुभएको हो ।

यस पटकको बजेट फरक ढंगले ल्याउनका लागि पनि सरकारले केहि समय लिन खोजेको उहाको भनाइ छ ।

उहाले संसद अन्त्य स्वभाविक प्रक्रियामा भएकाले यसलाई अरु अर्थमा बुझ्न नहुने धारणा राख्नुभयो । प्रवक्ता सहकारी प्रकरणमा सत्यतथ्य खोजिनुपर्ने भन्दै प्रमाण भए जतिसुकै ठूला मान्छे भएपनि कानूनी कारवाही गर्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिदै प्रवक्ता शर्माले लैङ्गिक हिंसाको प्रतिकार्यलाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने करिब ६१ करोड ३५ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै बैठकले अतिरिक्त हुलाक पाँचौँ संशोधन नियमावली २०८० स्वीकृत गरेको छ भने नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले डेडिकेटेड फिड ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुल सम्बन्धी विवाद निरूपण गर्न रायसहित प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्