सिन्दूर जात्रा मनाइयाे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , २ वैशाख । भक्तपुरको मध्यपुरथिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो । थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।

यसैगरी विष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ । जात्रामा बालकदेखि वृद्ध वृद्धासम्म सहभागी थिए । सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठुलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेको छ ।

यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोल टोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ । मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराक बाली सिन्दुरे जात्रा मनाइने परम्परा रहेको छ ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालुहरु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्