बसन्तपुर क्षेत्रमा छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

खबर बुक
  • ख-
  • ख+

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिनुभएको छ ।

यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत वाधा पुगेकोले त्यस्ता सामाग्रीहरु तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको हो । इन्द्रजात्राको तयारीबारे बुझ्न आज हनुमानढोका दरबार क्षेत्र निरीक्षणमा जानुभएका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार क्षेत्र व्यवस्थापनमा ध्यान दिन हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल प्रहरी, नेपाली सेना, पुरातत्व बिभाग र स्थानीय संघसंस्थालाई आग्रह गर्नुभयो ।

नेपालीको गौरवका रुपमा रहेको हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका सामग्रीले इन्द्रजात्रा लगायत महत्वपुर्ण जात्राहरु व्यवस्थापनमा समेत चुनौति सिर्जना हुने उहाँको भनाइ छ । सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र भुकम्पका कारण क्षतिग्रस्त भएपछि अहिले पुर्ननिमार्णको काम भइरहेको छ ।

मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रलाई सुन्दर, सफा र व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । ऐतिहासिक र पुरातात्विक महत्व बोकेको बसन्तपुर क्षेत्रलाई व्यवस्थित गर्न र संरक्षणमा स्थानीय संघ संस्था तथा सम्बन्धित निकायले समन्वय र सहकार्य गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्