देशैभर झोलुंगे पुलको बहारः साढे १० हजार निर्माण सम्पन्न, २३०० बन्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। देशैभर झोलुंगे पुल निर्माणको लहर चलेको छ। प्रत्येक ३० मिनेट पैदल यात्राको दूरीमा एउटा झोलुंगे पुल बनाउने सरकारको लक्ष्यअनुसार देशभरि १० हजार ४ सढ ९ वटा पुल निर्माण सम्पन्न भइसकेको स्थानीय पूर्वाधार विभाग (डोली) ले जनाएको छ। 

निर्माणाधीन पुलको संख्या २३ सय ६४ रहेको तथ्यांक विभागसँग छ। भौगोलिक हिसाबले कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै झोलुंगे पुल माग र निर्माण हुनुपर्ने हो। तर, निर्माणको अवस्था हेर्दा सबैभन्दा बढी कोसी प्रदेशमा देखिन्छ। 

त्यस्तै, मधेस प्रदेशमा पनि पुल निर्माण भइरहेका छन्। फागुन १२ बाट मधेस प्रदेशमा देशकै लामो (१५००.४४ मिटर) पुल सञ्चालनमा आएको छ। यसअघि सुदूरपश्चिमको कर्णालीमा देशकै लामो झोलुंगे पुल बनेको थियो। 

सरकारले ग्रामीण जनजीवन सहज बनाउन झोलुंगे पुल निर्माणलाई प्राथमिकता दिने बताए पनि घोषणाअनुसार काम हुन सकेको छैन। बजेट अभावका कारण गाउँ–गाउँ जोड्ने झोलुंगे निर्माण लक्ष्य पूरा गर्न चुनौती बढेको विभागका उपमहानिर्देशक एवं प्रवक्ता महेशचन्द्र न्यौपानेले बताए। 

आर्थिक वर्ष २०७९/८० मा देशभर ७४१ वटा झोलुंगे पुल निर्माण भएका थिए। चालू आर्थिक वर्षमा ३ तहका सरकारले ६ सय वटा पुल निर्माण गर्ने लक्ष्य राखेका छन्। यीमध्ये फागुन मसान्तसम्म १९१ वटा झोलुंगे पुल निर्माण भएका छन्।

बाँकी पुल निर्माण गरेर लक्ष्य पूरा भेट्याउन बजेट अभावले सहज छैन। ‘राजस्व संकलन नहुँदा बजेट प्राप्ति नहुने र रकमान्तर गरेर पनि थप पैसा माग्न नसकिने हुँदा लक्ष्य पूरा गर्न चुनौती छ’ प्रवक्ता न्यौपानेले भने। 

विगतका वर्षमा निर्माण सम्पन्न भएका तथ्यांकलाई अधार मान्दा दैनिक २ वटा झोलुंगे पुल निर्माण हुन्छन्। तर, बजेट अभाव र अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नदिँदा  दैनिक २ वटाका दरले पुल निर्माण असहज बन्दै गएको छ। 

१२० मिटरभन्दा लामो झोलुंगे पुल संघ सरकार र सोभन्दा कम दूरीका पुल प्रदेश तथा स्थानीय तहले बनाउँदै आएका छन्। झोलुंगे पुल यात्रा सहजीकरणका लागि मात्र नभई पर्यटकीय स्थलका रुपमा पनि महत्त्वपूर्ण छन्। 

अब कति पुल बन्छन् 

विभागका इन्जिनियर वर्षात ज्ञवाली कुनै पनि पूर्वाधार निर्माण आवश्यकतअनुसार हुने भएकाले कति पुल बनाएपछि आवश्यकता पुग्छ भन्न नसकिने बताउँछन्।

‘२०५४/५५ मा बनाएका पुल मर्मत गर्ने बेला भएको छ। तर, मर्मत गर्नुभन्दा नयाँ पुल बनाउन सस्तो र सजिलो हुन्छ,’ इन्जिनियर ज्ञवाली भन्छन्, ‘यसले गर्दा पुल निर्माण गरेर सकिँदैन, निरन्तर बनाउने क्रम चलिरहन्छ।’ 

कस्ता–कस्ता बने नेपालमा झोलुंगे पुल

विगतका वर्षमा झोलुंगे पुल खोला किनारमा यात्रा सहजीकरणका लागि निर्माण गरिन्थ्यो। तर, पछिल्लो समय एक गाउँबाट अर्को गाउँ सीधै जोड्ने गरी निर्माण भएका छन्।

बीचमा कुनै टेको प्रयोग नगरी पर्वत र बागलुङ जोड्ने ५६७ मिटर लामो झोलुंगे पुल पूर्वाधार विभागले बनाएको हो। त्यस्ता पुल निर्माणमा जोखिम बढी हुन्छ। यद्यपि प्राविधिक रुपमा असम्भव नहुने प्रवक्ता न्यौपानेले बताए। 

‘खोलासम्म पुगेर घुमाउरो बाटो प्रयोग गर्नुभन्दा वारिपारिको डाँडाबाट गाउँ नै जोड्न मिल्ने पुलको माग हुने गर्छ,’ क्यापिटल नेपालसँग प्रवक्ता न्यौपानेले भने, ‘प्राविधिक रुपमा असम्भव होइन तर हाम्रोमा प्रविधि नआइसकेकाले सजिलो छैन।’ 

त्यस्तै, गुल्मीको प्रसिद्ध धार्मिक स्थल रिडीमा ३ मुखे झोलुंगे पुल निर्माण भइसकेको छ। संघ सरकारको विभागले मात्रै चालू वर्ष ७ सय ३० वटा झोलुंगे पुल निर्माणका लागि स्रोत सुनिश्चिता मागेको थियो। यसमध्ये अर्थ मन्त्रालयले ४२ वटाको मात्रै स्रोत दिएको छ। 

बजेट सिलिङ घट्यो

पूर्वाधार विभागमा चालू आर्थिक वर्ष पुँजीगत बजेट ११ अर्ब ३३ करोड रुपैयाँ छ। तर, आर्थिक वर्ष २०८१/८२ का लागि ६० करोड रुपैयाँ घटाएर सहरी विकास मन्त्रालयले सिलिङ पठाएको छ। फागुन ३० मा सिलिङ प्राप्त गरेकाले आन्तरिक तयारी गरेर झोलुंगे पुल निर्माणमा विनियोजन हुनेछ। 

चालू वर्ष झोलुंगे पुलका लागि मात्रै २ अर्ब ८६ करोड रुपैयाँ विभिागले विनियोजन गरेको थियो। अब नयाँ बजेटमा स्वतः उक्त रकम घट्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्