गृहमन्त्री लामिछानेले कांग्रेसले उठाएका विषयलाई संसदमा जवाफ दिने

खबर बुक
  • ख-
  • ख+

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको वेल घेराउ गरेपछि संसद बैठक स्थगित भएको छ । कांग्रेस सांसदको अवरोधका कारण संसद बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको हो ।

कांग्रेस सांसदले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजिनामा दिनु पर्ने माग गर्दै आएको छ । कांग्रेसले विवाद र आरोपमा मुछिएका गृहमन्त्री नियुक्तिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आएर जवाफ दिनु पर्ने बताएको छ ।

संसद स्थगित भएपछि संसद भवनबाट बाहिरिदै गर्दा गृहमन्त्री लामिछानेले कांग्रेसका कारण संसद चल्न नपाएको बताउनु भयो । संसद अवरोध गरेर कांग्रेसले कानुन पास गर्न नदिएको आरोप लगाउनु भयो ।

कांग्रेसले उठाएका विषयलाई संसदमा जवाफ दिने लामिछानेले बताउनुभयो । नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले संसद अवरोध गरेर लाज पनि लजाएको टिप्पणी गर्नु भयो ।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेको अहिले नै राजिनामा माग्नु भन्दा पनि केही दिन काम गर्न दिनु पर्ने बताउनु भयो । सत्ता पक्षकै नेताका विभिन्न प्रकरण सार्वजनिक भइरहदा उनीहरुमाथि गृहमन्त्रीले कस्तो कारबाही गर्छन् त्यो हेर्न पनि उनलाई काम गर्न दिनु पर्ने सांसद शाहीको भनाई छ ।

जनता समाजवादी पार्टीका सांसद राज किशोर यादवले विपक्षी बेञ्चमा जाने बितिकै दलहरु क्रान्तिकारी भएको प्रतिक्रिया दिनुभयो । उहाँले गृहमन्त्री लामिछानेमाथि लागेका आरोपलाई स्वयम् गृहमन्त्रीले नै जनतालाई स्पष्ट पार्नु पर्ने बताउनु भयो । सुन काण्डमा मुछिएका जो सुकैलाई पनि छानबीनको दायरामा ल्याउनु पर्ने सांसद यादव भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्