पद, पैसा र पहुँचले चुनाव प्रभावित हुन हुँदैन : थपलिया 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ३

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव पद, पैसा र पहुँचले प्रभावित हुन नहुने बताउनुभएको छ ।

फेसबुकको मातृ कम्पनी मेटाले आज आयोजना गरेको भर्चुअल तालिलमा उहाँले निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुन नहुने भन्दै निष्ठा, विचार र सिद्धान्तबाट निर्देशिन हुनुपर्नेमा जोड दिनुभयो । यस्तै उहाँले निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गर्नुपर्ने भन्दै यी विषय निर्वाचनको निष्ठासँग जोडिएको बताउनुभयो ।

निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि आयोगले सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीति अवलम्बन गरेको प्रमुख आयुक्त थपलियाको भनाइ छ । नेपालको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीतिगत व्यवस्था गर्ने आयोग नै पहिलो सार्वजनिक निकाय भएको भन्दै उहाँले निर्वाचनको समयमा राजनीतिक दल, उम्मेदवार र आम मतदाताले सामाजिक सञ्जालको भरपुर उपयोग गरी सुसूचित निर्णय लिन सकून् भन्ने कामना पनि गर्नुभयो ।

सामाजिक सञ्जालको उपयोगद्वारा निर्वाचनसम्बन्धी तथ्यहीन, गलत, भ्रामक र अनुमानित निर्वाचन आचारसंहिता विपरीत सूचना वा जानकारी सम्प्रेषण तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट हुन सक्ने सम्भावित मिथ्या सूचना, दुुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमनद्वारा निर्वाचनको विश्वसनीयता र निष्पक्षता जोगाउन पनि प्रमुख आयुक्त थपलियाले जोड दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्