प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना हाजिर जमानीमा रिहा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ चैत । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिर जमानीमा रिहा भएका छन् ।

कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई हरेक दिन सीआईबी उपस्थित हुने गरी हाजिरी जमानतमा छाडिएको बताइएकाे छ ।

अनुसन्धानको कामहरु लगभग पूरा भइसकेको र बयान समेत सकिएको अवस्थामा उनीहरुलाई कागज गरेर बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको सीआईबीका एसपी होविन्द्र बोगटीले  बताए ।

उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा  जिल्ला अदालतबाट अनुमति लिएको थियो । सीआईबीले १५ फागुनमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो । यो धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको एसपी बोगटी बताउँछन् । हाल सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओका रुपमा कार्यरत थिए ।

यस विषयमा प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्