
काठमाडौं, ३० फागुन । विमान कम्पनी बुद्ध एयरले हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्याय क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई ‘स्व. सुरेन्द्रबहादुर बस्नेत सम्मान पुरस्कार’बाट सम्मानित गर्ने भएको छ।
यससम्बन्धी सम्झौतामा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत र सर्वोच्च अदालत बार एसोसिएसन कार्यसमिति सचिव अधिवक्ता श्यामकुमार खत्रीले हस्ताक्षर गरे। पुरस्कारका लागि बुद्ध एयरले २५ लाखको अक्षय कोषको स्थापना गरेको छ।
यसबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा एक जना व्यक्तिलाई सम्मान गरिनेछ। पहिलो वर्षका लागि थप ५ लाख रकम पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ।
सर्वोच्च अदालत बार एसोसिएसनले ‘क’ वर्गका बैंकमध्ये बढीभन्दा बढी ब्याजदर दिने बैंकको मुद्दती खातामा रकम जम्मा गर्नेछ। यसबाट प्राप्त हुने ब्याज रकममध्ये ३,००,००० पुरस्कार राशिमा तथा अन्य रकम साधारणसभाका दिन खर्च गरिनेछ।
स्व. सुरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्चका पूर्वन्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलका संस्थापक अध्यक्षसमेत हुन्। उनले विभिन्न समय सरकारको मन्त्री तथा विभिन्न आयोग अध्यक्ष भएर पनि सेवा गरेको कम्पनीले जनाएको छ।
हाल बुद्ध एयरसँग १५ वटा एटीआर–७२ तथा ३ वटा एटीआर–४२ जहाज छन्। दैनिक १५० बढी उडान भर्दै आएको बुद्ध एयरले साताको दुई दिन भारतको बनारसमा पनि उडान गर्दै आएको छ।