
काठमाडौं, फागुन ३० । वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो ।
तर व्यवसायीहरूले निर्देशनको पालना नगरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो ।
नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन थालेका छन् भने केही व्यापारीहरु भने प्रतिकारमा उत्रिएका छन् । सुरुमा शान्त रहेका व्यापारीहरु डोजरले संरचना भत्काउन थालेपछि एक्कासी ढुङ्गा मुढामा हान्न थालेका थिए । ढुङ्गामुढापछि एकछिन भागदौड नै मच्चिएको थियो भने झडपको स्थिति नै आएको थियो ।
स्थानीयबासिन्दाको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने सो क्रममा एक कर्मचारी समेत घाइते भएका छन् । त्यसपछि नगरपालिकाको डोजर पछि हटेको छ । झडपमा स्थानीयबासिन्दाले नगरपालिकाका कर्मचारी र डोजरमाथि आक्रमण गरे पनि प्रहरी भने त्यो सबै घटना हेरेर बसिरहेको थियो । माथिबाट आदेश नआएको आफूहरु एक्सनमा नगएको एक जना प्रहरी जवानले बताउनुभयाे ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी लक्ष्मणबहादुर शाहीले प्रशासनले निर्देशन नदिँदा एक्सन लिन नसकेको बताउनुभयाे ।