
लम्की। सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक टोलीले कर्णाली पुलको अध्ययन थालेको छ। सोमबार भएको आगलागीको क्षतिबारे मंगलबारदेखि प्रारम्भिक अध्ययन थालेको सडक डिभिजन कार्यालय नेपालगन्जले जानकारी दिएको छ।
पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताए।
‘आगलागीबाट भएको क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन गर्दैछौँ,’ उनले भने। प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा के गर्ने भन्नेबारे थाहा हुने उनले बताए।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा सोमबार एक्कासी आगलागी भएको थियो। ट्रकमा लागेको आगो नियन्त्रणमा लिन ४ घण्टा बढी समय लागेको थियो। एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रक जलेर नष्ट भएको थियो। आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा क्षति पुगेको छ।
सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको थियो। उक्त पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मंसिर २८ गते उद्घाटन गरेका थिए। गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षतिपुगेपछि कर्णाली पुलमा हाल सवारी आवागमन बन्द गरिएको छ।