गन्तव्य मेघौली : जंगलभित्रको लक्जरी रिसोर्ट ‘बाराही जंगल लज’, सफारीमा चितुवासँग जम्काभेट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। जंगल विचरणका लागि पर्या–पर्यटन स्थल चितवन राष्ट्रिय निकुञ्जलाई उत्कृष्ट गन्तव्य मानिँदै आएको छ।

२० मिनेटको हवाई उडान वा ४ घन्टाको ड्राइभमा काठमाडौंबाट सहजै पुग्न सकिने भएकाले छोटो समय निकालेरै भए पनि प्रकृतिसँग रमाउनेका लागि चितवन रोजाइको गन्तव्य बनेको छ।

कुनै समय चितवन भन्नेबित्तिकै पर्यटकीय दृष्टिमा सौराहा मात्रै बुझिन्थ्यो । पश्चिम चितवनमा व्यवसायीले ‘लिजर टुरिजम‘लाई लक्षित गर्दै लग्जरी होटल तथा रिसोर्ट निर्माण गरेपछि सौराहाबाट पर्यटकीय चहलपहल पटिहानी हुँदै मेघौलीसम्म फैलिएको छ। 
खासगरी सौराहा पश्चिमको लगानी हेर्दा चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सिमानामा बगेको राप्ती नदी किनारमा बढी केन्द्रित लाग्छा।

प्रकृतिसँगको सामिप्यमा रमाउन चाहनेलाई लक्षित गरी सञ्चालनमा आएका रिसोर्टमध्ये ख्याति कमाउनेमा  ‘बाराही जंगल लज’ पनि अग्र भागमा छ। सन् २०१३ सेप्टेम्बरबाट बाराही ग्र्रुपले सञ्चालनमा ल्याएको लक्जरी रिसोर्ट बाराही जंगल लज विदेशी एवं स्वदेशी पर्यटकको रोजाइमा परिरहेको छ।

बाराही जंगल लज

नाममै ‘जंगल’ रहेको लज साँच्चिकै १३ हेक्टर जंगलभित्रै बनेको छ। राप्ती नदीको सुसेलीसँग वहकिँदै हरियाली जंगलभित्र थारु शैलीको घरमा बस्दाको अनुभव शब्द चित्रमा उतार्नै मुस्किल हुन्छ।

चिरबिर–चिरबिर चरा आवाजमा सुस्याउँदै वहने हावा, आँखै अगाडि बहने अविरल राप्ती नदी र पारिपट्टि अनकन्टार चितवन राष्ट्रिय निकुञ्जलाई नियाल्दा जोकोहीको मन चञ्चल हुन्छ।

लजबाटै राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्तीलगायत जंगली जीवजन्तु  रमाएको दृश्यावलोकन गर्न सकिन्छ।

लज परिसरमा लगाइएका अनेकानेक  बोटबिरुवाको छहारीले मनलाई शितल बनाइदिन्छ।

स्थानीय थारु संस्कृति प्रवद्र्धन गरिरहेको लजमा पर्यटक बस्ने भिल्लादेखि स्वागत कक्ष, डाइनिङ, टाइगर्स डेन बारका घरसमेत थारु शैलीमै डठ्याइएका छन्। २६ भिल्लामा ३४ कोठा बनाइएको छ भने प्राइभेट स्विमिङ पुलसहितको २ बेडरुमको स्विट भिल्ला रहेको छ। भिल्लालाई खरको छानाले चिटिक्कै सजाइएको छ। 

लज बाहिरबाट हेर्दा जति चित्ताकर्षक देखिन्छ, ढोका उघ्राएर भित्र पस्दा त्यहाँको इन्टेरियरले मनै लोभ्याउँछ। पुराना अर्थात् गाउँघरका प्राचीन  ढोकामा राखिने आग्लो (चुक्कुल), काठका फल्याकले बनाइएका दराज, प्राकृतिक ‘लुक्स’ दिने फर्निचर र तिनको उत्कृष्ट सजावट बाराहीको अर्को आकर्षण हो।

बाराही बासमा गएका पाहुना गाउँघरमा हुर्के–बढेका भए नोस्टाल्जिक हुन पुग्छन् भने सहरमा जन्मिएर गाउँले परिवेश नदेखेकालाई रिसोर्टका कोठामा सजाइएका हरेक सामानले मौलिकता झल्काउँदै गाउँले जीवनसँगको अनुभव साट्न सहज बनाउँछ। 
बेडसँगै हात्ती आकारमा बनाइएका इन्टेरियर डिजाइनले अझ पृथकता दिएको छ। बाथरुम डिजाइन र त्यहाँ राखिएका ‘ट्वाइलेटरिज‘ अनि ह्याडमेड बाथटपले पाहुनाको ध्यान तुरुन्तै खिच्छ।

कोठाको  एकातर्फ निकुञ्ज नियाल्न मिल्ने बार्दली छ भने अर्कातर्फ ढोकाबाहिर पिंढीमा ओछ्याइएका गुन्द्री(सुकुल)मा बसेर चियाउँदा विभिन्न चराचुरुंगी लज परिसरमा रोपिएका बिरुवाको फल खाँदै रमाएको देख्न सकिन्छ।

फराकिलो स्वीमिङ पुल लजको अर्को आकर्षण हो। पाहुनाको रुचिअनुसार स्वीमिङमा डुबुल्की पार्दैै बियर बारमा रमाउने, डुंगाको ट्रेमा ‘पुल ब्रेकफास्ट’ गर्ने वा पौडेरै रमाउने विभिन्न विकल्प छन्।  अनलिमिटेड चिया र कफीको चुस्कीले पाहुनाको मन आनन्दित तुल्याउन सक्छ।

लोपोन्मुख अवस्थामा पुगेको मट्टीतेल लालटिन लजमा निकै रचनात्मक ढंगले सदुपयोग गरिएको छ। क्याडल लाइट डिनरमा अभ्यस्त पुस्तालाई लालटिन उज्यालोमा डिनर गराएर लजले विदेशी पाहुनालाई समेत नेपाली परम्परा सिकाएको छ।

लजमा बेलुका स्थानीय थारु र कुमाल जातिकै सांस्कृतिक नाच देखाइन्छ। इच्छुक पाहुनाले सांस्कृतिक भेषभूषा लगाएर फोटो खिच्न पनि पाउँछन्। लज परिसरकै जंगलको एक कुनाको झाडीमा तीन सय बढी लालटिनको सजावट अनि त्यसैको मन्द उज्यालोमा साथीभाइ, आफन्त वा प्रियजनसँग प्रेमिल वार्तालापमा रमाउँदै ‘डिनर‘ गर्नुको अनुभव सायदै अन्त कहाँ पाइएला?

जंगल सफारीमा चितुवासँग जम्काभेट

जंगल सफारीमा रमाउन चाहनेहरुको मुख्य इच्छा बाघ या चितुवा देख्न पाए हुन्थ्यो भन्ने हुन्छ। सफारीका क्रममा बाघ,  चितुवा नदेखिए पनि गैंडासम्म देख्न पाउने आसमा सबैका आँखा दौडिरहेका हुन्छना्। संयोग के भने पुस अन्तिम साता एक दर्जन पत्रकारलाई जंगल सफारीमा लगिएका बेला चितुवासँगको जम्काभेट अझै मानसपटलमा ताजै छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्