
२७ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ प्रतितोला पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य आइतबार १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
उक्त मूल्य हालसम्मकै उच्च रहेको महासंघले जानकारी दिएको छ। यसअघि शुक्रुबार सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेको थियो। शुक्रबार उक्त मूल्य पनि हालसम्मकै उच्च रहेको थियो।
महासंघका अनुसार पछिल्लो ५ दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ।
गएको सोमबार (फागुन २१ गते) प्रतितोला १ लाख २१ हजार रुपैयाँका दरले रहेको सुन त्यसयता निरन्तर बढिरहेको हो। मंगलबार सुनको कारोबार प्रतितोला १ लाख २३ हजार तथा बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा भएको थियो।
त्यस्तै बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँ प्रतितोलाका दरले सुनको कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। आइतबारका लागि चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँ तोकिएको छ। यसअघि शुक्रबार र बिहीबार चाँदीको कारोबार प्रतितोला १ हजार ४७० रुपैयाँमा भएको थियो।