
काठमाडौं, २७ फागुन ।ताप्लेजुङको पाथिभरा (मुकुलुङ) मा केबुलकार निर्माणको काम तत्काल अघि बढाउन जिल्ला सबै राजनीतिक दलले आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यलय ताप्लेजुङको आह्वानमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको बैठकले केबुलकार निर्माणसम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै निर्माणलाई सहजीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।
केबुलकार कम्पनीले निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसका लागि शान्ति–सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल अध्यक्षताको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा उपस्थित राजनीतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केबुलकार निर्माणमा सहजीकरण गर्ने सहमति जनाएका छन्।बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिले केबुलकार ताप्लेजुङको सर्वांगीण विकास, रोजगारी र पहिचानसँग जोडिएकाले यसको निर्माण तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्नेे बताएका थिए ।
आइएमई समूहको अगुवाइमा ताप्लेजुङको फुङ्लिङ ११ काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केबुलकार निर्माण गर्ने योजना रहेको छ। ताप्लेजुङमा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्वको क्षेत्र हो।