
दोलखाको पर्यटकीय एवं धार्मिक स्थल कालिञ्चोक हिउँ पर्दा बिछट्टै सुन्दर र मनमोहक देखिन्छ।
कालिञ्चोक आफैंमा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। अझ हिउँले ढाक्दा सुनमा सुगन्धझैं लाग्छ। सदरमुकाम चरीकोटबाट १७ किलोमिटर दूरीमा रहेको कालिञ्चोकमा प्रायः हिउँ पर्ने गर्छ। हिउँले ढाकेपछि पर्यटकको ओइरो लाग्छ।

हिउँ खेल्न विशेषगरी युवाहरू कालिञ्चोकमा जाने गर्छन्। कालिञ्चोक ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेकाले पनि प्रायः हिउँ पर्छ। उच्च भूभाग भएकाले यहाँबाट दोलखा, सिन्धुपाल्चोक र रामेछापका अधिकांश भूभाग नजिकैबाट नियाल्न सकिन्छ। हिउँकै कारण पनि गौरीशंकर, नुम्बुर, जुगल हिमशृंखला नियाल्नकै लागि पनि हजारौं पर्यटक यहाँ पुग्ने गर्छन्।

काठमाडौंबाट समेत नजिक पर्ने भएकाले हिउँ खेल्न र प्राकृतिक सुन्दरतामा रम्न कालिञ्चोक आउने पर्यटकमा कुनै कमी छैन।