
अस्ट्रेलियाली महिला पर्वतारोही तथा पूर्वगाईड एली पेपरले वसन्तऋतृमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छन्। उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल अक्सिजन प्रयोग नगरी आरोहण गर्ने लक्ष्य रहेको बताएकी हुन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १०औं अग्लो (८,०९१ मिटर) उचाइको अन्नपूर्ण–१ को आरोहण गर्न लागेकी उनले जानकारी दिइन्। अन्नपूर्ण–१ आठ हजार मिटर अग्ला १४ हिमालमध्येको एउटा हिमाल हो।
उनी हाल टिमसहित काठमाडौं आएकी छन्। अन्नपूर्ण–१ को आरोहण उनले हिमाल आरोहण कम्पनी सेभेन समिट ट्रेक्समार्फत गर्न लागेकी जानकारी दिइन्। बिनाअक्सिजन हिमाल आरोहण गर्ने यात्राको सुरुआत भने उनले सन् २००७ मा नेपालको माउन्ट चोयु हिमालबाट गरेकी थिइन्
पेपरको लक्ष्यअन्तर्गत हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ हिमालमध्ये दुईटा हिमाल अक्सिजनबिनै सफल आरोहण गरिसकेकी छन्।
सन् २०२३ को जुलाई १५ तारिखमा विश्वको १२औं अग्लो (८,०५२ मिटर) को ब्रोडपिक र विश्वको पाँचौं अग्लो (८,१६३ मिटर) को मनास्लु हिमाल सन् २०२३ को सेप्टेम्बर २८ तारिखमा सफल आरोहण गरिसकेको उनले जानकारी दिइन्। ब्रोडपिक बिनाअक्सिजन सफल आरोहण गर्ने पहिलो अस्ट्रेलियाली महिला बनेकी थिइन्।
४८ वर्षीया पेपरले चुनौती सामना गरिरहेका महिलालाई त्यसबाट पार पाउन र प्रोत्साहित गर्ने लक्ष्य रहेको सुनाइन्। उनले भनिन, ‘आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमै आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त छु। मेरो सम्पूर्ण जीवन यसका लागि शारीरिक रूपमा मात्र होइन, मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा तालिम लिएको छु। यही सबै कुराले मलाई यो गर्न प्रेरित गरेको छ।’
उनको हिमाल आरोहणमा २३ वर्षको अनुभव छ। वसन्तयाममा नेपालको अन्नपूर्ण–१ सहित तीन हिमाल आरोहण गर्ने योजना रहेको उनले बताइन्। विश्वमा हालसम्म ६ जनाले मात्र अक्सिजनबिना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेका छन्।
त्यसमध्ये पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको मुख्य चुचुरोमा पुगेका भने दुई पुरुष मात्र छन्। उनीहरुलाई त्यसका लागि १६ वर्ष लागेको थियो। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालअन्तर्गत सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु, नांगा पर्वत, अन्नपूर्ण–१, गासरब्रम–१, ब्रोडपिक, गासरब्रम–२, सिसापाङ्मा पर्छन्।