
काठमाडौं, २५ फागुन । आज नेपाली सेनाले आफ्नो स्थापनाको २ सय ६१ औँ वार्षिकोत्सव मनाउँदैछ ।
सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउने गरेको छ । यसवर्ष मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनु भयो ।
आज नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुति समेत हुनेछ । साथै जङ्गीअड्डा मातहतका पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रमको आयोजना गरि सेना दिवस मनाउन लागेको जनाइएको छ ।