
काठमाडौं, २४ फागुन । जिल्ला प्रहरी परिसर काठमाण्डाैले अपराधजन्य कार्य तथा दुर्घटना रोकथामका लागि ‘बडी वोर्न’ अर्थात शरीरमा जडित प्रहरी परिचालन गरेको छ ।
शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन क्यामेराबाट गोप्य रूपमा निगरानी शुरू गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।
यो प्रविधि ‘क्विक रेस्पोन्स टीम’ (क्यूआरटी)सँग हुने छ । भीडभाड हुने ठाउँमा क्यामेरा जडित प्रहरी परिचालन हुने उहाँले बताउनुभयो । यो टीमलाई जीपीएस प्रविधियुक्त उपकरण, घुँडा र कुहिनामा लगाउने प्याड, हेल्मेट, चश्मा लगायतका सुरक्षा उपकरण उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले हिजो परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको थियो ।
पहिलो चरणमा काठमाण्डाै जिल्लाभरिका ६० टोलीलाई डिजिटल प्रविधिसहित परिचालन गरेको एसएसपी खत्रीले जानकारी दिनुभयो ।