
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले जनयुद्धको विद्रुपीकरण गरेकाले गठबन्धन टुटेको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले कांग्रेस महासमिति बैठकमा पेस गरिएको प्रतिवेदनले गठबन्धनमा झनै संका उब्जिएको बताएका हुन्।
प्रतिवेदनले माओवादी जनयुद्धलाई न्यूनीकरणमात्रै नभएर विद्रुपीकरण नै गर्न खोजिएको उनको भनाइ थियो। ‘महासमितिमा पेस गरिएको प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्रै होइन त्यसको विद्रुपीकरण गरियो,’ उनले भने, ‘२०४७ सालकै संविधान ठिक भएको आशयको प्रतिवेदन वितरण गरियो। यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत संका र अविश्वासको वातावरण बन्न गयो।’
उनले कांग्रेससँगको गठबन्ध सरकारका रुपमा थुप्रै उपलब्धि हासिल गरे पनि आफूले त्यसभन्दा बढी चाहेकाले गठबन्धन टुटेको बताए। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर दाहालले नेकपा माओवादी र रास्वपालगायत दलसँग मिलेर बुधबार नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्। सोही सेरोफेरोमा रहेर उनले बिहीबार संसदमा मन्तव्य दिएका हुन्।