ट्वान्टी–२० क्रिकेट विश्वकपको तयारीका लागि सरकारले दियो पाँच करोड रुपैयाँ 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन ।  आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई पाँच करोड रुपैयाँ दिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए । 

सदस्य–सचिव घिसिङले नेपाल क्रिकेट संघलाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्न भन्दै नेपाली टोलीलाई शुभकामना दिए ।

नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म भएको आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि सुरु हुने आईसीसी ट्वान्टी–२० विश्वकपका लागि नेपाल छनोट भएको थियो ।

नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपाली टिमले सन् २०१४ मा पहिलोपटक ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्