
काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारदेखि गठबन्धन बदलेसँगै संघीय सरकारमा रहेका कांग्रेस मन्त्रीलाई बर्खास्त गरे। केन्द्रको सत्ता फेरबदलसँगै प्रदेशमा पनि मन्त्री हटाउने र राख्ने खेल सुरु भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।
माओवादीबाट गण्डकी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगर र सामाजिक विकास मन्त्री सुशीला सिंखडालाई मुख्यमन्त्री पाण्डेबाट हटाइएका हुन्।
प्रचण्डले कांग्रेससँग गठबन्धन तोड्दै एमाले र रास्वपासहित नयाँ गठबन्धन बनाएका थिए। नयाँ गठबन्धनले संघीय र प्रदेश सरकारमा पनि आलोपालो सरकार चलाउने सहमति गरिसकेको छ।