
काठमाडौं, २१ पुस । सत्ता गठबन्धन परिवर्तन हुने चर्चासँगै सेयर बजारमा रौनक छाएको छ।
सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा निरन्तर तेस्रो सर्किट लागेपछि एक घण्टा चार मिनेटमै कारोबार बन्द भयो। केही दिनदेखि निरन्तर घटेको सेयर बजार सत्ता गठबन्धन फेरबदल गर्ने चर्चाले नेप्सेमा उछाल आयो। पछिल्ला केही वर्षहरुमा एमाले सत्तामा आउँदा सेयर बजारले सकारात्मक संकेत गर्ने गरेको छ।
२०७८ सालमा पनि सेयर बजारले नयाँ उचाइ बनाइरहँदा एमाले सरकारबाट विमुख भएको थियो।
एमाले सत्ताबाट बाहिरिएको ३५ दिन नपुग्दै नेप्सेले २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९६ (त्यसदिन ३२२६ सम्म) पुगेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा रहँदा अर्थमन्त्री भने जनादर्न शर्मा थिए।
त्यसपछि घटेको बजार विभिन्न आरोहअवरोह पार गर्दै आइतबार १९६०.३ बिन्दुमा रोकिएको थियो। आइतबार साँझदेखि सत्ता गठबन्धन फेरिने चर्चा सुरु भएको थियो, जसले सोमबार कारोबार खुल्नासाथ नेप्से उचालिन थालेको हो।
सेयर बजारले धेरै जसो कांग्रेसभन्दा एमालेसहितको गठबन्धनलाई रुचाएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्। ‘एमाले र माओवादीको गठबन्धन भएपछि अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आउँछन् भन्ने हाम्रो अनुमान हो,’ रौनियार भन्छन्, ‘हिजोका दिनमा पनि विष्णु पौडेल आउँदा दुई पटक सर्किट लागेको थियो।’
२०७९ पुस ११ मा एमाले नेता विष्णु पौडेल अर्थमन्त्री भएसँगै सेयर बजारमा उछाल आएको थियो। त्यसबेला नेप्सेमा ५६.८६ अंकको वृद्धि देखिएको थियो। २०७२ सालमा त्यतिबेलाको उच्च बिन्दु कायम गर्दा अर्थमन्त्री पौडेल नै थिए।
२०७२ पुसमा त्यसअघिको उच्च अंक ११७५ बिन्दुलाई उछिनेर सूचक अघि बढ्दा अर्थमन्त्री पौडेल थिए। तर, २०७३ साउनमा १८८१ अंक पुगेर त्यसबेलाको उच्च अंक कायम गर्दा भने कांग्रेस समर्थनमा बनेको सरकारका अर्थमन्त्री कृष्णबहादुर महरा थिए। २०७९ चैत १९ शुक्रबार अर्थमन्त्री प्रकाससरण महत आएकोमा आइतबार नेप्से भने २० अंकले घटेको थियो।
त्यसअघि २०६८ मा माओवादी नेता वर्षमान पुन अर्थमन्त्री हुँदा नेप्से सबैभन्दा न्यून २९१ बिन्दुसम्म झरेको थियो। २०७२ सालमा प्रधानमन्त्री केपी ओली नियुक्त हुँदा पनि नेप्से ३६ अंकले बढेको थियो।