नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजको कारोबार बन्द

खबर बुक
  • ख-
  • ख+

 सेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेको छ।

साताको कारोबारको दोस्रो दिन सोमबार कारोबार सुरु भएको एक घण्टामै तेस्रो सर्किट ब्रेक लागेको हो। यो सँगै आजको कारोबार बन्द भएको छ। 

आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११७.७० अंक अर्थात् ६ प्रतिशतले बढेर २०७८ को बिन्दुमा बन्द भएको छ। सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सर्किट ब्रेक लागेको हो। 

कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो भने २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको थियो। 

यसपछि खुलेको केही मिनेटमै पुनः सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको हो। कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ। 

त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत विन्दु वा कुल ५ प्रतिशत घटेमा वा बढेमा दोस्रो सर्किट ब्रेक लाग्छ। त्यस्तै खुलेर एक प्रतिशत अर्थात् कुल ६ प्रतिशत वृद्धि भएमा कारोबार तीन घण्टाका लागि बन्द हुने व्यवस्था छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्