
काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजकाे बैठकमा प्रधानमन्त्री प्रचण्डले टाठाबाठाहरूले पीडितलाई कपाली तमसुक बनाएर ऋण दिएको, बैंककाे कागजातसमेत बनाएर ऋण दिएको देखिएकाे बताउनुभयाे ।
बैंकिङ कागजातसमेत बनाएर ऋण दिएको देखिएको भन्दै उहाँले अदालत जाँदा पीडकहरूकै पक्षमा फैसला हुनसक्ने अवस्था रहेको बताउनुभयो । यो समस्याको समाधान गर्न सरकार र अदालत मिल्नुपर्ने अवस्था रहेकाले अदालतसँग समन्वय भइरहेको प्रचण्डकाे भनाइ छ । उहाँले मिटरब्याज पीडित, लघुवित्त पीडित तथा सहकारी पीडितहरूसँग वार्ता भइरहेको पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकार गम्भीर रहेको पनि बताउनुभयो ।