
काठमाडौं, १६ फागुन।जापान सरकारले श्रमिक भर्नाको प्रक्रियामा आफू सामेल हुन अस्वीकार गरेपछि व्यवसायीमार्फत नै स्पेसिफाइड स्किल वर्कर अर्थात् सीपयुक्त श्रमिक पठाइने भएको छ।
नेपालले जीटूजी प्रणाली अर्थात् सरकारी तहबाटै श्रमिक पठाउने प्रस्ताव गरेको थियो। तर उक्त प्रस्तावमा जापान सहमत नभएपछि व्यवसायीमार्फत नै जापानमा श्रमिक पठाइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले बताए।
जापानसँग श्रम समझदारी भएको ५ वर्षपछि कार्यविधि तयार भएको हो। सन् २०१९ मै जापानसँग सीपयुक्त श्रमिक पठाउने समझदारी भए पनि कार्यविधि नबन्दा नेपाली श्रमिक जापान पठाउने प्रक्रिया सुरु हुनसकेको थिएन।