
काठमाडौं, १५ फागुन । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि कुटनीतिक पहल भइरहेको बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा रुसी सेनामा रहेका नेपालीका परिवारको ज्ञापन पत्र बुझ्दै मन्त्री साउदैरुसी सेनामा रहेका नेपालीहरुलाई सकुशस स्वदेश फर्काउने दायित्व सरकारको भएको भन्दै कुटनीतिक पहल भइरहेको बताउनुभएको हो ।
रुसी सेनामा रहेर ज्यान गुमाएका नेपालीको पार्थिव शरिरलाई नेपाल ल्याउन पनि छलफल र कुराकानी भइरहेको उहाले बताउनुभयो । उहाले रसियन सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गराउन कुटनीतिक संवादमा रहेको जानकारी दिनुभयो ।
रसियन सेनामा भएका नेपालीका दुईसय भन्दा बढि परिवारले परराष्ट्रको कन्सुलरमा आवेदन दिएको भन्दै उहाले अन्यलाई पनि अनलाईनबाटै आवेदन दिन आग्रह गर्नुभयो । उहाले सरकारले मान्यता नदिएका स्थानमा जान नदिन पनि आग्रह गर्नुभयो ।
रुसी सेनामा रहेका नेपालीका आफन्त धादिङ गोर्खाकी कविता कुमालले रुसी सेनामा रहेका आफन्तलाई नेपाल फर्काउन आग्रह गरिएको जानकारी दिनुभयो । मन्त्रीको कुरा सुन्दा आशावादी रहेको उहाको भनाइ छ ।
रुसी सेनामा रहेका नेपालीका परिवारले आफ्ना आफन्तजनको अवस्था सार्वजनिक गर्न, मृतक तथा रुसी सेनामा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो स्वदेश फर्काउनका लागि पहल गर्न मन्त्री साउदलाई ज्ञापन पत्र बुझाएका हुन् ।