ब्रिटिस काउन्सिलको ‘एजुकेसन सिम्पोसियम’, नेपालको शिक्षा प्रणाली सुधार्ने बहस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १५ । ब्रिटिस काउन्सिल नेपालले सातौं ‘एजुकेसन सिम्पोसियम’ आयोजना गरेको छ। काठमाडौं शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकको पेसागत विकास’ शीर्षकमा उक्त सिम्पोसियम (संगोष्ठी) आयोजना गरिएको थियो।

वार्षिक संगोष्ठी विगतका वर्षजसरी नै नेपालको शैक्षिक क्षेत्रका महत्त्वपूर्ण मुद्दामा छलफलका लागि उल्लेखनीय मञ्च सावित भएको काउन्सिलले जनाएको छ। समावेशी शिक्षा,  कलामार्फत सृजनशील शिक्षाको मूल्यांकनका लागि शिक्षणका अभ्यासमा प्रविधिको समायोजनलगायत विविध विषयमा सिम्पोसियममा परिचर्चा भएका थिए।

यो वर्षको सिम्पोसियम नेपालको विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) मा उल्लेख भएअनुरूपको ‘शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकको निरन्तर पेसागत विकास’ (सीपीडी)’ मा  केन्द्रित थियो।

शिक्षक र शिक्षकका प्रशिक्षकको निरन्तर पेसागत विकास (सीपीडी)सम्बन्धी ब्रिटिस काउन्सिलको दृष्टिकोण, विश्वव्यापी बुझाइ तथा शिक्षण र शिक्षकको विकासमा रहेको विज्ञतामा आधारित रहेको छ। 

ब्रिटिस काउन्सिलको उद्देश्य विश्वभर नै उच्च स्तरको ’सीपीडी’ उपलब्ध गराउने, शिक्षकको अभ्यास अभिवृद्धि गराउँदै तिनको सिकाइलाई सफल बनाउन योगदान दिने हो।

’विद्यालय शिक्षा क्षेत्र योजना’ ले गुणस्तरीय विद्यालय शिक्षा र हरेक बालबालिकाका लागि न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न शिक्षकको विकास तत्कालै आवश्यक भएको संगोष्ठीमा सहभागीले धारणा व्यक्त गरेका थिए। 

सिम्पोसियममा नेपालमा शिक्षकको सहयोगका लागि संयन्त्र विकास गर्ने सम्बन्धमा बेलायतसहित विश्वभर अपनाइएका नीति, अभ्यास र सफल मोडलबारे छलफल भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्