
काठमाडौं, फागुन, १५ । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न उचित नहुने निष्कर्ष निकालेको छ।
प्राधिकरणले आज सूचना जारी गर्दै तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ हवाईमैदानबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत भएकाले धरानमा विमानस्थल निर्माण अनुपयुक्त हुने बताएको हो।
आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले समेत धरानमा विमानस्थल निर्माण सम्भव नहुने प्राधिकरणले बताएको छ।

धरानमा विमानस्थल निर्माण गर्न धरान उपमहानगर प्रमुख हर्क साङ्पाङले अभियान चलाएपछि पर्यटनमन्त्री गोपाल किराँतीले समिति गठन गरेर हवाईमैदान बनाउन उचित हुने/नहुनेबारे अध्ययन गर्न लगाएका थिए। त्यसैका आधारमा धरानमा विमानस्थल निर्माण गर्नु नपर्ने देखिएको प्राधिकरणले प्रस्ट्याएको हो।