
काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरुले जोड दिएका हुन् । माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकाशं स्थायी कमिटि सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यसबिषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
बैठकमा कांग्रेस महासमिति बैठकमा गठबन्धनका बारेमा उठेका बिषयमा पनि सदस्यहरुले चासो राखेको उहाले बताउनुभयो । बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले धारणा राख्ने र आवश्यक निर्णय गरेर बैठक समापन हुने उहाको भनाइ छ ।
स्थायी कमिटीमा नेताहरुको कार्यबिभाजन, पार्टीको अभियानको समिक्षा र आगामी अभियानका बारेमा निरन्तर छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।