अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा

खबर बुक
  • ख-
  • ख+

अर्घाखाँची, २९ असाेज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् ।

एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बेला राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालको उम्मेदवारीले अर्घाखाँचीमा तरंग सृजना गरेको छ ।

१५ वर्षदेखि अर्घाखाँचीमा एकछत्र राज गर्दै आएका रायमाझीदेखि जिल्लाकाे प्रतिनिधित्व गर्दै संसदमा पुगेकी पुष्पा भुसालको अगाडि जिल्लामै रहेर सामाजिक गतिविधिमा सक्रिय भुसालको उम्मेदवारीले चुनावी रौनक बढेको छ ।

रायमाझी र भुसाल मैदानमा रहे पनि स्वतन्त्र पत्रकार संघको अध्यक्ष भएर सामाजिक गतिविधिमा देखाएकाे सक्रियताले आफूले निर्वाचन जित्ने दाबी गर्छन पत्रकार भुसाल । यता, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्वर भुसाल भने अर्घाखाँचीको प्रतिनिधित्व गर्दै विभिन्न मन्त्रालयसहित उपप्रधानमन्त्री समेत बनिसकेका टोपबहादुर रायमाझीको प्रतिस्पर्धा सत्तागठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग मात्र रहेको बताउँछन् ।

स्थानीय तहको निर्वाचनको मतका आधारमा पनि अर्घाखाँचीमा आफूहरूको सहज जीत हुने कांग्रेस नेताहरूको अपेक्षा छ । ‘हामीसँग यसै पनि बहुमत छ,’ कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले भने ।

घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालले आफ्नो प्रतिष्प्रधा कुनै व्यक्ति वा पार्टीसँगभन्दा पनि प्रवृतिसँग रहेको जिकिर गरे । यो पटक अर्घाखाँचीले नयाँ सन्देश दिने उनकाे विश्वास छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्