सहयोगापेक्षी सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने कानून निर्माण हुन्छः प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ मंसिर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगापेक्षी सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने गरी कानून निर्माण गरिने बताउनुभएको छ ।

मानवसेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा कार्यक्रमको समापन कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बेवारिसे, असहाय, अनाथ, असक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन गर्न संघीय संसदको आउने अधिवेशनमा सो सम्बन्धी बिधेयक पेश गर्ने बताउनुभएको हो ।

उहाले संघ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी मानव व्यवस्थापन गर्न आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताउनुभयो । मानव सेवा आश्रमलाई आतिआवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिबद्ध रहेको पनि उहाले बताउनुभयो ।

उहाले सातै प्रदेशमा एक÷एक वटा सडक आश्रित मानव उद्धारका सवारी साधन उपलब्ध गराउने घोषणा गर्नुभयो । सडक मानवमुक्त बनाउने नेपाल सरकारको घोषणा पूरा गर्नका लागि एक महिनाभित्र मन्त्रिपरिषद्बाट निश्चित कार्ययोजना स्वीकृत गर्ने गरि अघि बढ्ने बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमका अभियान्ताहरूलाई तत्काल आवश्यक परेको रकम सरकारले सम्बन्धित मन्त्रालयमार्फत् उपलब्ध गराउने पनि बताउनुभयो । उद्धार यात्रामा सडकमा अलपत्र परी बसेका बृद्धवृद्धा, युवा, बालबालिका गरी ३०४ जनाको उद्धार गरिएको मानवसेवा आश्रमले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्